१४ माघ, काठमाडौं । म्यानचेष्टर सिटी क्यापिटल वान कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि लिभरपुलसँग खेल्नेछ ।
बुधबार राति भएको दोस्रो लेगमा इभर्टनविरुद्ध ३-१ को जित हात पार्दै सिटी समग्रमा ४-३ ले विजयी भयो । पहिलो लेगमा सिटी २-१ ले पराजित भएको थियो ।
सिटीको घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा इभर्टनले १८ औं मिनेटमा अग्रता लिएको थियो । तर, धेरैबेर जोगाउन सकेन । २४ औं मिनेटमा फर्नान्डिन्होले गोल गरे ।
खेलको ७० औं मिनेटमा डि ब्रुइनेले गोल गरे । यो गोल खाँदासम्म अवे गोलका आधारमा इभर्टनको फाइनल पुग्ने सम्भावना थियो ।
तर, ७६ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गर्दै म्यानचेष्टर सिटीलाई फाइनलमा पुर्याए ।