सधै जवान भैरहने चाहना कसको पो हुँदैन र ? तर समयक्रमसँगै मानिस बालकबाट तन्नेरी र बुढो हुँदैजान्छ । तर कतिपय मानिस भने वंशाणुगत तथा अन्य विभिन्न खाले अस्वस्थताका कारण उमेर छँदै चाउरीन्छन् र बुढो देखिन्छन् । मानिसहरुले जवान देखिनका लागि विभिन्न खाले औषधि तथा उपचार पद्धति अपनाएका हुन्छन् । तर यस्ता उपचारले पनि उमेर छिप्पिएर हुने बुढ्यौलीलाई रोक्न भने सक्दैनन् । तर अब वैज्ञानिकहरुले यस्तो औषधि तयार पार्दैछन् जसले बुढ्यौलीको दरलाई कम गरिदिनेछ ।
वैज्ञानिकहरुका अनुसार यो औषधिले छिटो बुढो हुनबाट रोक्नेछ र मानिस १ सय वर्षको उमेरपछि पनि स्वस्थ भएर बाँच्न सक्नेछ ।
शोधकर्ताहरुले मधुमेहमा प्रयोग गरिने मेटफर्मिन वर्गको औषधिमा एन्टी एजिंग अर्थात् बुढ्यौली प्रतिरोधी गुण रहेको पत्ता लगाएका छन् । यो औषधिको प्रयोगले अन्य जनावरमा बुढ्यौलीको दर कम गरेको र आयुमा वृद्धि भएको परीक्षणबाट देखिएको भन्दै शोधकर्ताहरुले यहीँ वर्ष मानिसमा पनि परीक्षण गरिने जनाए ।
यदि यो प्रयोग सफल भएमा मानिस ७० वर्षको उमेरमा पनि अधवैँशे जस्तै हुन सक्नेछ । डाक्टरहरुलाई पनि क्यान्सर, मधुमेह जस्ता रोगको अलग अलग उपचार गर्नुपर्नेछैन ।