सरकारले नेपाली युवालाई रोजगारीमा लैजाने गरी अवसर दिन थप ५ वटा देशसँग औपचारिक प्रस्ताव गर्ने भएको छ । नेपाली युवाको नयाँ रोजगार गन्तब्य बन्न सक्ने भनी पहिचान गरिएका ५ वटा मुलुकमा नेपाली कामदार लैजाने गरी छलफल अघि बढाउन लागिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।
तीनवटा देशसँग भने तत्कालै नेपाली कामदार लैजाने गरी समझदारी (एमओयु) गर्ने सरकारको तयारी छ । त्यसरी नयाँ रोजगारी खुल्न लागेका देशहरुमा क्यानडा, सिंगापुर, पोल्याण्ड, रसिया र फिनल्याण्ड छन् ।
यी देशहरुमा कोरियामा जस्तै सरकारी निकायबाटै नेपाली कामदार लिने गरी छलफल अघि बढाउन लागिएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डअन्तरगतको नयाँ बजार खोजी तथा पुराना बजार व्यवस्थापन उच्चस्तरीय समितिका संयोजक डा. हरि लम्सालले अनलाइनखबरलाई बताए ।
यसअघि ती मुलुकसँग सरकारी तहमा नेपाली कामदार लैजाने विषयमा छलफल भएको थिएन । अब भने सम्बन्धित सरकार र रोजगारदाता कम्पनीहरुसँग नै छलफल गर्न नेपाली टोली त्यता जाने तयारीमा छ ।
नयाँ पहिचान भएका मध्ये क्यानडाले नेपाली कामदार लिन सक्ने सम्भावना बढी देखिएको समिति संयोजक डा. लम्सालले बताए । क्यानडामा दक्ष कामदारहरुको माग उच्च भएकाले सीप भएका नेपाली कामदार पठाउनेबारे अब सरकारी तहमै छलफल गरिने उनले बताए ।
नयाँ रोजगारी खुल्न लागेका देशहरुमा क्यानडा, सिंगापुर, पोल्याण्ड, रसिया र फिनल्याण्ड छन् ।
‘यसअघि त्यहाँ रहेका कुटनीतिक नियोग र गैरआवासीय नेपालीहरुबाट लिएको सूचनामा आधारमा सम्भावना पहिल्याइएको हो । अब भने सम्बन्धित देशका सरकारी अधिकारी र रोजगारदाताहरुसाग नै छलफल गगरेर उचित वातावरण बनाउँछौं’ लम्सालले भने-‘यी मुलुकमा नेपाली कामदार पठाउन सुरु गर्न सके बढी जोखिमयुक्त बनेको खाडीको विकल्प तयार हुनेछ ।’
दक्ष नेपाली कामदार लैजाने विषयमा क्यानडा पनि सकारात्मक रहेको समितिको ठहर छ । भूकम्पपछि एक क्यानेडेली मन्त्रीले नेपाली कामदारलाई अवसर दिने विषयमा चासो व्यक्त गरेका थिए ।
यसैगरी एसियाली देश सिंगापुरमा पनि दक्ष कामदारको माग रहेकाले त्याहाँ बजार प्रर्वद्धन गर्न सकिने समितिको विश्वास छ ।
युरोपेली मुलुक पोल्याण्ड, रसिया र फिनल्याण्डमा पनि दक्ष नेपाली श्रमिक पठाउन सक्ने सम्भाव्यता बढी देखिएको लम्सालले जानकारी दिए ।
दक्षिण एसियाली देश माल्दिभ्ससहित युरोपका पोर्चुगल, नर्वे, स्पेन लगायतका मुलुक पनि दक्ष नेपालीको श्रम गन्तब्य हुन सक्ने समितिले निश्कर्ष निकालेको छ ।
समितिले १५ वटा मुलुकमा नेपाली कामदार पठाउन सकिने ठम्याए पनि पाँचवटालाई प्राथकिता दिएर बजार प्रर्वद्धन गर्न लागेको हो ।
नयाँ बजार खोजी समितिले यसअघि नै ति देशहरुमा नेपाली कामदार पठाउन सम्भाव्य रहेको भन्दै तत्काल प्रक्रिया अघि बढाउन श्रम तथा रोजगार मन्त्रालयमा सिफारिस गरेको थियो ।
श्रम मन्त्रालयले केहीदिन अघि सार्वजनिक गरेको सय दिने प्रतिवद्धता पत्रमा ३ वटा देशसँग नेपाली कामदार लैजानेबारे सरकारी तवरमा छलफल अघि बढाउने उल्लेख छ ।
वैदेशिक रोजगारीका लागि पहिचान भएका एशियाली, अमेरिकी र युरोपेली मुलुकमा आकर्षक आम्दानी हुने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका सहायक निर्देशक दिपेन्द्र पौडेलले बताए ।
ती देशमा श्रम कानुन सहज र व्यववहारिक भएको तथा अन्य देशमा भन्दा अवसर पनि पर्याप्त रहेको अधिकारीहरु बताउँछन् ।
सूचीमा अफ्रिका देश पनि
समितिले नेपाली कामदार पठाउन सकिने भनेर तयार गरेका मुलुकको प्रारम्भिक सुचीमा केही अफ्रिकी मुलुकसम्म छन् । जसमा डाक्टर, इन्जिनियर लगायत दक्ष कामदारको उच्च माग छ ।
केन्या, दक्षिण अफ्रिका लगायतका मुलुकमा दक्ष नेपाली कामदार जान सक्ने सम्भावना देखिएको समितिको ठहर छ ।
‘व्यक्तिगत श्रम स्विकृतिमा यी देशमा कामदार गइरहेको भेट्यौं । यसलाई संस्थागत गर्न सके आकर्षक श्रम गन्तब्य बनाउन सकिने हाम्रो निश्कर्ष हो,’ डा. लम्सालले भने ।
‘व्यक्तिगत श्रम स्विकृतिमा यी देशमा कामदार गइरहेको भेट्यौं । यसलाई संस्थागत गर्न सके आकर्षक श्रम गन्तब्य बनाउन सकिने हाम्रो निश्कर्ष हो,’ डा. लम्सालले भने ।
दक्षिण एसियाली देश माल्दिभ्ससहित युरोपका पोर्चुगल, नर्वे, स्पेन लगायतका मुलुक पनि दक्ष नेपालीको श्रम गन्तब्य हुन सक्ने समितिले निश्कर्ष निकालेको छ ।
तर, पहिलो चरणमा भने बढी सम्भावना देखिएका क्यानडा, सिंगापुर, पोल्याण्ड, रसिया र फिनल्याण्डमा सरकारी टोली नै पुगेर नै छलफल गर्ने भएको छ ।