सभ्यता–संघर्षको गाथा


चैत्र ६, २०७२- बलिउडी फिल्मको ह्याङमा डुबिरहेका बेला मैले ‘बाबेल’ हेरेको थिएँ । हिन्दी फिल्मी मसलाको स्वादबाट अंग्रेजी र अरू फिल्मतिर पुग्दा मलाई यस्ता फिल्मको स्वाद कफीको तितोजस्तो लागेको थियो ।

अलेजान्द्रोले यसअघि नै ‘एमेरोस पेरोस’ (लभ इज अ विच) र ‘२१ ग्राम’ बनाएर फिल्मी दुनियामा नाम बनाइसकेका थिए । उनको ‘डेथ ट्रिलोजी’मा बाबेल तेस्रो फिल्म थियो । यी तीनवटै फिल्म मृत्युका बारे बनाइएका हुन् । र, तीनवटै फिल्ममा उनले एउटै शैली अपनाएका थिए– एउटा सानो घटना वा एकजनाको मृत्युले अन्य धेरैलाई पार्ने प्रभाव दर्साउने ।

यी तीनपछि अलेजान्द्रोले अरू तीन फिल्म बनाए । ‘बिउटीफुल’ र ‘बर्डम्यान’ । यी दुवै फिल्म यसअघिका भन्दा फरक थिए । ‘बर्डम्यान’बाट उनले उत्कृष्ट निर्देशकको ओस्कर जिते । यो फिल्मको विशेषता के थियो भने यो ‘वान सट मुभी’ थियो । अर्थात्, पूरै फिल्म एकै सटमा खिचिएको ।

र, २०१५ को अन्त्यमा आयो– ‘दि रेभेनान्ट’ । यसबाट अलेजान्द्रोसहित अभिनेता लियोनार्डो डिक्याप्रियोले पनि ओस्कर पाएपछि यसको चर्चा ह्वात्तै बढ्यो ।


दि रेभेनान्ट एउटा मानिसको संघर्षको कथा हो । सन् १८२० को अमेरिका । हिउँ र पानीको प्रदेश, जहाँ मानिस र घोडाबाहेकका प्राणी देख्नै मुस्किल छ । यस्तो प्रदेशमा जनावरका छाला र रौं संकलन गर्न हिँडेको सिकारीको एउटा टोलीमाथि आदिवासी लडाकुले आक्रमण गरेपछि फिल्म सुरु हुन्छ एउटा लामो यात्रा । भालुको आक्रमणमा परेपछि ‘मर्नका लागि छोडिएको’ एउटा घाइते मानिस कसरी उठेर आउँछ र आफ्नो बदला पूरा गर्छ भन्ने कथा रेभेनान्टको हो ।

बदला र न्याय सुन्दा उस्तै उस्तै लाग्ने शब्द भए पनि यी फरक हुन् । तर, मानवीय भावनामा कहिलेकाहीं यिनको मिश्रण हुन्छ, अनि पैदा हुन्छ आवेग र उत्तेजना । सेतै हिउँ ओडेर पल्टिएको पृथ्वीको निर्जन पाटोमा बदलाको ज्वाला मनमा जगाएर एक्लै घस्रिने मानिसले आफूलाई कसरी जोगाउँछ र लक्ष्यसम्म पुग्छ भन्ने रेभेनान्टको कथा हो ।

यो फिल्मका केही विशेषता छन् । जस्तै, यसमा संवाद निकै कम छन् । चाहे हिंसाको होस् वा अनुहारको अभिव्यक्तिको, प्रत्येक दृश्यको सानोभन्दा सानो ‘डिटेल’ उतारिएको छ । फिल्मका दुई दृश्य विशेष छन् । पहिलो भालुले गरेको आक्रमण । एउटा उन्मत्त भालुले आफ्ना बच्चाको रक्षा गर्नका लागि मानिसमाथि गरेको आक्रमणको यो दृश्य आजसम्म फिल्ममा उतारिएको सबभन्दा सूक्ष्म चित्रित हिंसामध्ये पर्नेछ । दोस्रो, भीरबाट आफूसँगै खसेर मरेको घोडाको पेटभित्र प्रवेश गरी कुनै मानिस निदाउन सक्छ ? यस्तो दृश्यको तपाईंले कहिल्यै कल्पना गर्नुभएको छ ? यसलाई पर्दामा हेर्न रेभेनान्ट हेर्नुस् ।

यो पात्रको दुईपटक उदय हुन्छ । पहिलो आफूलाई पुरिएको माटोको खाडलबाट र दोस्रोपटक आफैंले चिरेको घोडाको पेटबाट । मानिसको जीवन यदि संघर्षहरूको संग्रह हो भने त्यसमा उसको जन्म र पुनर्जन्म पनि भइरहन्छ होला । जन्म केवल भौतिक जन्ममात्र नभई वैचारिक र सांस्कृतिक पनि हुन्छ ।

१८२० को कथा भए पनि निर्देशकले हज्जारौं वर्षको मानव सभ्यता निर्माणको कथालाई भिन्न तरिकाले पर्दामा ल्याएका छन् । एउटा दृश्यमा मूल पात्र ह्युग ग्लासले मरेको जनावरको सुकेको करङमा अड्किएको सानो टुक्रा मासु निकालेर खान्छ । सिकारी युगमा मानिसले यस्ता कंकालमा मासुका टुक्रा नभेट्दा हड्डी भाँचेर भित्रको मासी खान्थे भनिन्छ । फिल्ममा ग्लासले कतै माटो र कतै घाँस पनि खान्छ । अर्को दृश्यमा सिकारीले मारेको जनावरको काँचो मासु खाएको पनि देखिन्छ । त्यसले सायद, हज्जारौं वर्ष पहिले मानिसले खानाका लागि कसरी संघर्ष गर्थे भन्ने थाहा पाउन सकिन्छ ।


एउटा व्यक्तिको बदलाको कथा भए पनि वास्तविक अर्थमा यो प्रकृतिसँग मानिसको संघर्षको कथा हो । कठ्यांग्रिने हिउँ, नदीको तेज धार, जंगली जनावरको आक्रमण, विपक्षी मानव समूहको आक्रमण झेल्दै सुरक्षित गन्तव्यतर्फ यात्रा गर्ने यो घाइतेको कथामा मानव सभ्यताको विकासको सूक्ष्म पाटो लुकेको छ ।

प्रकृतिका कठिनाइहरूलाई जित्ने संघर्ष नै मानिसको सभ्यताको कथा हो । प्रकृतिको विषमताले नै मानिसलाई विज्ञान र आविस्कारका लागि प्रेरित गरेको मानिन्छ । प्रकृतिका साथै यसमा संस्कृतिहरूको पनि संघर्ष छ । फिल्ममा एकसाथ तीन समूहको गतिविधि छ । अपहरित आफ्नी जवान छोरीको खोजीमा निस्केको आदिवासी अरिकारा समूह, छाला संकलन गर्न आएका अमेरिकी र फ्रेन्च सिकारीहरूको समूह । यी तीनै समूहका बीच प्रभुत्वको लडाइँ छ ।

आदिवासी समूह आफ्नो जमिन र परिवारको रक्षामा हिँडेको छ । अमेरिकी र फ्रेन्च समूह शक्तिका बलमा सम्पत्ति कब्जा गर्न उद्यत छन् । यो संघर्षलाई अहिलेको विश्वको संघषसँग जोडेर पनि हेर्न सकिन्छ । जनावरका छालाको स्थानमा कतै पेट्रोल ग्यासका लागि लडाइँ होला त कतै टेक्नोलोजीका लागि होला तर प्रभुत्वको लडाइँ अहिले पनि जारी छ । भाषा र संस्कृतिका बीचको लडाइँ पनि चलि नै रहेको छ ।

अलेजान्द्रो फिल्मका प्राय: सबै विधामा पकड राख्ने निर्देशक हुन् । उनका ६ वटै फिल्म हेर्ने हो भने त्यो देखिन्छ । यसको पनि संगीतदेखि सिनेम्याटोग्राफी र अभिनयसम्ममा उनले ‘पर्फेक्सन’ खोजेका छन् ।
लियोनार्डो डिक्याप्रियोजस्तो हलिउडको ‘चार्मिङ सुपरस्टार’लाई यस्तो विरूप र कुनै उमंग नभएको चरित्रमा ढाल्न उनी सफल भएका छन् । अलेजान्द्रोले दिएको भूमिका र आफ्नो अभिनयका बलमा लियोनार्डो ओस्कर जित्न सफल भए । हलिउडका अर्का स्टार टम हार्डीले पनि यसमा प्रभावकारी अभिनय गरेका छन् । यसै वर्षको अर्को फिल्म ‘म्याड म्याक्स : फ्युरी रोड’ मा हार्डी बिल्कुल फरक भूमिकामा थिए ।

यो फिल्मको सिनेम्याटोग्राफी अर्को उल्लेख्य पाटो हो । लोकेसनको विषमतादेखि कलाकारको अभिनयको स–सानो पाटोसम्मलाई सिनेम्याटोग्राफीले राम्ररी समाएको छ ।

एकथरी समीक्षकहरूले ‘दि रेभेनान्ट’लाई सिनेमाको भविष्य भनेका छन् भने अर्काथरी समीक्षकले यसलाई निकै मेहनत गरिएको ‘काम नलाग्ने पीडा गाथा’ पनि भनेका छन् । काम लाग्ने फिल्म कस्तो हुन्छ ? त्यसको व्याख्यातिर नलागी कलात्मकता र सिनेमामा नयाँ दृश्यविम्बको निर्माणको हिसाबले हेर्ने हो भने दि रेभेनान्टलाई मानक मान्न सकिन्छ ।