हरेक विहान उनी रेलस्टेसनमा गएर भिख माग्छन् र दयालुहरुले दिएको केही पैसाले दिन गुजार्छन् ।
अनुहार तथा सरीरका अन्य विभिन्न भागको छाला ठूला ठूला पोकाजस्तै गरी लत्रिएको छ । यस्तो विकृत अनुहार तथा सरीर लिएर भिख माग्ने कनईलाई कतिपयले भने साक्षात भगवान गणेश नै ठानेर पूजा पनि गर्छन र उनको पाउमा पैसा चढाउँछन् पनि ।
कनइ एक दुर्लभ रोगका सिकार बनेका छन् । अनुहारमा पलाएको मासु छातिसम्मै लत्रिएको छ र दायाँ आखा नै पूरिएको छ । उनी न सजिलोसँग खान सक्छन् न बोल्न सक्छन् । आफुलाई भिख माग्ने मन नभएपनि आफ्नो अवस्थाका कारण कुनै जागिर नपाएको र आफ्नी आमालाई पाल्नका लागि भिख माग्नुपरेको उनी बताउँछन् ।
तर ती आमा उनकी आफ्नै आमा भने होइनन् । उनको रोग बढ्दै गएपछि उनलाई उनकी आमाले छाडेर पोइल गइन् । उनलाई भारती राय नामकी एक पसलेले आफ्नै छोराजस्तो गरी पालिन् । तर भारतीका पति तथा छोराछोरीले कनइको स्याहार सुसार गर्न त परै जाओस् उनलाई छुन पनि मानेनन् । पछि भारतीका पतिको मन फर्कियो । भारतीले नै कनइलाई हुर्काइन् दुख गरेर ।
कनइलाई उपचार गर्नका लागि केही अस्पतालमा लगे र उपचार सम्भव भएन । पछि भारतीका पतिको मृत्यु भयो । उनका छोराछोरीले उनलाई हेर्नै छाडे । अहिले तिनै कनइले भिख मागेर भएपनि आमा भारतीलाई पालेका छन् ।
भारतको पश्चिम बंगालको बरुइपुरका बासिन्दा कनइको टाउकोमा सानै छँदा गाँठो देखिएको थियो । उनी ९ वर्षको हुँदासम्म उक्त गाँठो यति बढ्यो की उनको आँखा नै छोपियो । उनको हातमा पनि यस्तै ठूलो ट्युमर पलाएको छ ।