आउँदैछ साबुन पानीले धुन मिल्ने विश्वको पहिलो स्मार्टफोन, के के हुनेछन् फिचर्स ? 


Smart-Phone
विश्व स्मार्टफोन बजारमा तिब्र प्रतिस्पर्धा छ । चाहे त्यो उच्च मूल्य तथा गुणस्तरीय अर्थात् हाइ इण्ड प्रडक्टमा होस् वा सुपथ मूल्यका बजेट स्मार्टफोनमा किन नहोस् । प्रतिस्पर्धामा खरो उत्रिनका लागि स्मार्टफोन कम्पनीले एक से एक अत्याधुनिक तथा गुणस्तरीय प्रडक्टहरु बजारमा ल्याइरहेका छन् ।
प्रडक्टहरुको गुणस्तरीयताका साथै उपभोक्ता आकषिर्त गर्नका लागि पनि गज्जबका विज्ञापन शैली तथा प्रचारहरुको सहारा समेत लिने गर्छन् । कतिपय कम्पनीले आफ्नो फोन कहिल्यै नटुट्ने दाबी गर्दछन् त कतिले विश्वकै शक्तिशाली फोन भएको दाबी पेश गर्दछन् ।
त्यस्तै कतिपयले पौडी खेल्दा समेत चलाउन मिल्ने अर्थात् पानी नपस्ने र भुइँमा बज्रिँदा पनि नबिग्रिने भनेर विभिन्न खाले स्मार्टफोन बजारमा ल्याउने गरेका छन् । स्मार्टफोनको यो बजारमा एउटा यस्तो स्मार्टफोन आउँदैछ जसले स्मार्टफोनको टिकाउपनमा नयाँ मापदण्ड नै कायम गरिदिनेछ । डिग्नो र्‍याफ्रे नामक उक्त स्मार्टफोनलाई साबुन पानीले धुन सकिने दाबी गरिएको छ ।
जापानको टेलिकम कम्पनी केडीडीआइ तथा क्योसेरा नामको बहुराष्ट्रिय इलेक्ट्रोनिक्स सामान उत्पादक कम्पनीले मिलेर यो ग्याजेटको उत्पादन गरेका हुन् । यसलाई साबुनले धुन मिल्ने दुनियाको पहिलो स्मार्टफोन भएको दाबी गरिएको छ । ४३ डिग्री सेल्सियस सम्मको तातो पानीमा यो स्मार्टफोन धुन सकिने बताइएको छ ।