७ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले उपाधि होडमा रहेको म्यानचेष्टर सिटीलाई पराजित गरेको छ ।
सोमबार राति भएको खेलमा आर्सनलले म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै आर्सनलले लिग लिडर लिसेस्टरसँगको अंक दूरी दुईमा झारेको छ ।
घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले दुवै गोल पहिलो हाफमा नै गरेको थियो । आर्सनलले ३३ औं मिनेटमा थियो वालकोटको गोलबाट अग्रता लिएको थियो ।
ओलिभर जिरउडले पहिलो हाफको अन्तिममा गोल गरे । ८२ औं मिनेटमा म्यानचेस्टर सिटीका लागि याया टुरेले एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् ।
जितपछि दोस्रो स्थानको आर्सनलको १७ खेलबाट ३६ अंक भएको छ । शीर्ष स्थानको लिसेस्टरको समान १७ खेलबाट ३८ अंक छ भने म्यानचेस्टर सिटीभने ३२ अंकसहित तेस्रो स्थानमा छ ।