एक हप्तामा ५५ सय भूकम्पपीडितले घर निर्माणका लागि अनुदान पाउने सिन्धुपाल्चोक छनोटमा परेन, कुन जिल्लाका कति परे ?

अबको हप्ता दिनभित्र आठ जिल्लाका ५ हजार ५ सय २ घरधुरी भूकम्पपीडितले घर पुनर्निर्माण गर्न सरकारले दिने अनुदानको पहिलो किस्ता पाउने भएका छन् ।
आइतबारदेखि एकैसाथ आठ जिल्लाका आठ वटा गाविसमा निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता सुरु भएको भूकम्पीय आवास पुनर्निर्माण कार्यक्रम केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना निर्देशक घनश्याम वस्तीले अनलाइनखबरलाई जानकारी दिए ।
‘भूकम्प पीडितलाई घर बनाउन सरकारले दिने अनुदानका लागि सम्झौता सुरु भएको छ,’ वस्तीले भने- ‘अनुदान सम्झौता भएको एक हप्ताभित्र घर पुनर्निर्माणका लागि पहिलो किस्ता दिनुपर्ने नीतिगत व्यवस्था छ ।’
गोर्खा, धादिङ, नुवाकोट, रसुवा, ओखलढुङ्गा, सिन्धुली, रामेछाप र मकवानपुरमा हरेक जिल्लाका एक गाविसका भूकम्प पीडितसँग अनुदान सम्झौता सुरु गरिएको हो ।
अनुदान सम्झौताको तयारीका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्राविधिक तथा विज्ञहरुको टोली सम्बन्धीत जिल्लाका गाविसमा पुगेका थिए । विज्ञहरुले स्थानीयस्तरमा राजनीतिक दल, स्थानीय प्रशासनसँग छलफल गरी पूर्वतयारी सम्पन्न गरेका थिए ।
कुन जिल्लाका कति पीडितले राहत पाउँदैछन् ?
आयोजनाका निर्देशक घनश्याम वस्तीका अनुसार सिन्धुलीका ११७८, काभ्रेको रबिवतीका ९७०, नुवाकोटको खरानीटारका ४०८, रामेछापको ओख्राङ्ग ७५९का, ओखलढुंगाको रुम्जाटारका ४७, रसुवाको बि्रदीम १९३, धादिङको मार्पाक १००३ र गोर्खाको हंसपुर ९४४ भूकम्पले भत्किएका घर पुनर्निर्माणका लागि अनुदान सम्झौता सुरु भएको हो ।
तथ्यांक विभागले भूकम्पले अतिप्रभावित १४ जिल्लामध्ये उपत्यकाबाहेक ११ वटा जिल्लामा भूकम्पबाट अति प्रधावित घरधुरीको तथ्यांक संकलन गरिरहेको छ । हालसम्म ८० प्रतिशत घरधुरीको पहिचान भइसकेको पुनिर्माण प्राधिकरणले जनाएको छ । बैशाख १२ गते अगाडि नै भूकम्पले भत्काएका सबै घरधुरीको पहिचान भइसक्ने लक्ष्य राखिएको छ ।
दोलखाका ६ गाविसमा मात्रै ५३ घरधुरी
प्राधिकरणले गत फागुन ३० गतेबाट दोलखाको लादुक र लामाबरगर दुई गाविसलाई केन्दि्रत गरेर सुरु गरेको थियो । दोलखाका ६ वटा गाविसमा ५ हजार ३ सय १३ घरधुरी अनुदान सम्झौता गर्न योग्य भएको पहिचान गरिएको छ ।
सिन्धुपाल्चोक छनोटमा परेन
भूकम्प गएको वर्षदिन वित्नै लाग्दा पनि सिन्धुपाल्चोकको एउटा गाविसमा पनि अनुदान सम्झौता हुन सकेको छैन । स्थानीयले जिल्लाका हरेक निर्वाचन क्षेत्रका एक/एक गाविसमा यस्तो सम्झौता गर्नुपर्ने माग गरेपछि तत्कालका लागि स्थगित गरिएको वस्तीले जानकारी दिए ।
‘हरेक निर्वाचन क्षेत्रको एक गाविसमा अनुदान सम्झौता गर्नुपर्ने माग हायो, जिल्लामा ३ वटा निर्वाचन क्षेत्र छन्,’ उनले भने- ‘हाम्रो तयारी भइनसकेकाले केही दिनका लागि स्थिगित गरेका हौं ।’
तथ्यांक विभागले मकवानपुरमा पालुङमा तथ्यांक संकलन गरिरहेका उनले जानकारी दिए ।
कसरी दिइन्छ अनुदान ?
पहिलो चरणमा सम्झौता भएपछि पीडिको बैंक खातामा ५० हजार र दोस्रो किस्ता निर्माणकार्य भुईतलासम्म आएपछि दोस्रो किस्ताको रुपमा ८० हजार र निर्माणको् कार्य छाना छाउने स्तरसम्म पुगेपछि ७० हजार रुपैयाँ दिइने छ ।
बैंक भएका गाविस छानियो
भूकम्प पीडितलाई दिने सबै राहत अनविार्य बैंकमार्फत भुक्तानी गर्ने सरकारी नीतिका कारण पहिलो चरणमा बैंकहरुको उपस्थित भएका गाविस छनोट गरिएको वस्तीले बताए । बैंकको उपस्थिति नभएका ठाउँहरुमा भने प्राधिकरणले केन्द्रीय आयोजना समन्वय समितिमार्फत दोलखाका स्थानीय विकास अधिकारीकहाँ पठाइसकेको छ । बैंक र एलडीओबीच सेवा दिएबापत केही शुल्क दिने सम्झौता भइसकेको बताइएको छ ।